काठमाडौं– गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युट र चिसोका कारण मंगलबारदेखि बिरामी परेर फसेकाहरुको उद्धार हुन सकेको छैन । उद्धारका लागि बुधबार गएको नेपाली सेनाको हेलिकप्टर खराब मौषमका कारण फर्किएको हो ।
डिभिजन वन कार्यालय धादिङकी रेन्जर अनुसुया ढुंगानाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बुधबार दिउँसो बेस क्याम्प पुगेको थियो । तर पटक पटक ल्याड गर्ने प्रयास गरिएपनि खराब मौसम र संचारको पहुँच नभएका कारण उद्धार गर्न नसकिएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
मंगलबार साँझदेखि अनुसुयाको स्वास्थ्य अवस्थामा समस्या आएको थियो । नेटवर्कको पहुँच नभएका कारण बुधबार ६ घण्टा हिडेर नेटवर्क आउने ठाउँ पुगी सँगै ट्रेक गएकाहरुले उद्धारका लागि सहयोग मागेका थिए । बुधबार दिनभर प्रयास गर्दा पनि उद्धार गर्न नसकिएको ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङले बताए ।
तामाङका अनुसार गणेश हिमाल बेस क्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् । संगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका–४ हिन्दुङ आइपुगेका छन् ।
पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली एक सातादेखि यात्रामा रहेका छन् । त्यस स्थान नजिक मानव वस्ती नभएको र संचारको पहुँच नभएकाले बुधबार बिहानदेखि छ घण्टा हिडेर संचार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए ।
ट्रेकिङ टोलीमा २७ जना रहेका छन् । अनुसुयासँगै डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यको पनि स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ । २७ जना मध्ये २ जना बिरामीसहित १६ जना बेस क्याम्प नजिकै फसिरहेका छन् भने ११ जना १४ घण्टा हिडेर शेर्तुङको हिन्दुङ आइपुगेका छन् ।
बेस क्याम्प नजिकै फसेकाहरुको उद्धारको एउटै विकल्प हेलिकप्टर मात्रै रहेको उनले बताए । ‘बाटो निकै अप्ठ्यारो छ । बोकेर ल्याउन सक्ने अवस्था छैन । विरामी हिडेर आउन सक्दैन । भोलि मौषम अनुकुल रह्यो भने उनीहरुको उद्धार गर्न सकिन्छ’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप