काठमाडौं– गणेश हिमाल बेस क्याम्प नजिकै धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेकाहरुको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
हाइ अल्टिच्युट र चिसोका कारण बिरामी परेर सोमबार रातीदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगानालाई उद्धार गरी रुवीभ्याली गाउँपालिका–४ शेर्तुङको हिन्दुङ ल्याइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो ।
हाइ अल्टिच्युट र चिसोका कारण लेक लागेर उनीहरु स्वास्थ्य समस्यामा परेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार हिन्दुङ आइपुगेका उनीहरु अहिले आराम गरिरहेका छन् । केही समय हिडेर सवारीको माध्यमबाट धादिङबेशी आउने कि काठमाडौं जाने उहाँहरु आफैले निर्णय गर्नु हुनेछ । अहिले उहाँहरुको अवस्था सामान्य रहेको छ ।
पर्यापर्यटन प्रवर्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको २७ जनाको टोली १० दिनका लागि रुवीभ्याली यात्रामा थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप