काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ सिम्थलीका राम बहादुर चेपाङ गुमेको ज्योति फर्केपछि खुषीले दंग छन् । मोतियाविन्दुका कारण आँखा नदेख्ने भएपछि अरुको सहारामा हिडडुल गर्दै आएका चेपाङले गाउँपालिकामा सञ्चालित आँखा शिविरमा सहभागी भएर मोतियाविन्दुको शल्यक्रियापछि उनले फेरी संसार नियाल्ने अवसर पाएका हुन् ।
कसैको पिठ्यूमा चढ्दै र अरुको सहारामा शिविर आइपुगेका चेपाङ आँखा देखेपछि खुषीको सिमा नरहेको बताउँछन् । बोलीको भरमा आफन्त तथा छरछिमेकका साथीभाईलाई चिन्दै आएका उनी आफ्नै आँखाले उहाँहरु देख्न पाउँदा मन गदगद भएको बताउँछन् । आँखा देखेपछि गाडीमा आफै चढेर घर जान लाग्दै गर्दा भेटिएका रामबहादुर भन्छन्– ‘अरुको सहारामा शिविरमा आएको हुँ । आँखा देखेपछि त आफै जान सक्ने भएँ । देखिरहेको आँखाको दृष्टि गुमेपछि फेरी आँखा देख्छु भनेर सोचेकै थिइन् । फेरी यो संसार हेर्न पाए । भाग्यमानी रहेछु । उपचारमा सहयोग गर्ने सबैलाई मेरो धन्यवाद छ ।’
बेनीघाट २ माङकी फुल माया चेपाङ पनि शिविरमा मुस्कुराउदै गरेकी अवस्थामा भेटिइन् । आँखाको ज्योति गुमेपछि संसार अन्धकार बनेकी फुलमायाको ज्योति गाउँपालिकामा भएको आँखा शिविरबाट फर्केपछि उनी खुषी बनेकी हुन् । ‘सबै भन्दा ठूलो त आँखा नै रहेछ । आँखा नदेपछि त संसार अध्यारो हुने रहेछ । अरुकै सहरामा बाँचेको म, आँखा देख्ने भएपछि त आफै हिडडुल गर्न र साना तिना काम आफै गर्न सक्ने भएँ’ उनले भनिन्– ‘गुमेको ज्योति फर्कन्छ भन्ने त सोचेकै थिइन । तर अहिले म आँखा देख्न सक्ने भएँ । विकास र प्रविधि गाउँ गाउँमा पुगेको यो एउटा उदाहरण हो । संसार नियाल्ने सौभाग्य मिल्यो ।’
कोही नहोस अन्धकार, दृष्टि हाम्रो अधिकार भन्ने मूम मर्मका साथ बेनीघाट रोराङ गाउँपालिकाले शिविरको आयोजना गरेको हो । नेपाल नेत्रहिन संघ, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम गोरखा धादिङले प्राविधिक तथा औषधी, चस्मा लगायतको सहयोग रहेको थियो ।
समुदायमा मोतियाविन्दुरहित गाउँपालिका बनाउने उद्देश्यका साथ निःशुल्क मोतियाविन्दुको शल्यक्रियासहित आँखा जाँच शिविर कार्यक्रममा आयोजना गरिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) ले बताए । बेनीघाट रोराङ गाउँपालिकामा विकास निर्माणका काम जस्तै, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि विशेष योजना बनाएर पालिकाले काम गरिरहेको छ । पछाडी परेका चेपाङ समुदायलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउन पनि यस्ता शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थपलियाले बताए ।
स्वास्थ्य शिविरले ठूलो परिणाम दिएको अध्यक्ष थपलियाले बताए । ‘हेर्दा एउटा शिविर हो । तर १०२९ जनाले सेवा लिनु सानो कुरा होइन । धेरैको गुमेको ज्योति फर्केको छ । स्वास्थ्य सबै भन्दा ठूलो सम्पत्ति हो । विकास निर्माण जस्तै स्वास्थ्य क्षेत्रमा पनि पालिकाले विशेष कार्यक्रम ल्याएको छ । स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढाउन र उनीहरुलाई स्वास्थ्य परिक्षण तथा उपचार गर्नु पर्छ भन्ने चेतनाको विकास गर्न पनि यो शिविरले सहयोग पुगेको छ’ उनले भने ।
सिमान्तकृत चेपाङ समुदाय रहेको बेनीघाट रोराङ गाउँपालिकामा स्वास्थ्य शिविर निकै प्रभावकारी बनेको बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे बताउँछन् । ‘स्वास्थ्यमा मात्र होइन, हरेक क्षेत्रमा चेपाङ समुदायको पहुँच कम देखिन्छ । त्यसैले पनि पालिकाले उनीहरुका लागि विभिन्न कार्यक्रम तथा लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ । आँखाको ज्योति गुमाएकाले फेरी सुन्दर संसार देख्न पाउँदाको उनीहरुको खुषी देख्दा हामीलाई पनि ठूलो सन्तृष्टि मिलेको छ । स्वास्थ्य क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनि हामीले काम गरिरहेका छौं । अझै थप उर्जा र हौसला मिलेको छ’ उनले भनिन् ।
आँखा जाँच शिविरमा एक हजार २९ जनाले सेवा लिएको बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताए । उनका अनुसार १८६ जना मोतियाविन्दुको शल्यक्रियाको लागि छनौट भएकोमा ११२ जनाको सफलतापुर्वक शल्यक्रिया गर्न सफल भएको छ । उनले भने– ‘स्वास्थ्यसम्बन्धि जनचेतना फैलाउन हामी गाउँ गाउँ पुग्ने गरेका छौं । धेरै यस्ता स्वास्थ्य समस्याहरु छन् जुन बेलैमा उपचार पाए निको हुन्छ । जसमध्ये मोतियाविन्दु एक हो । धेरैको गुमेको ज्योति फर्केको छ । धेरैलाई स्वास्थ्य हेरचाहका विषयमा ज्ञान भएको छ । मोतियाविन्दुरहित गाउँपालिका बनाउने उद्देश्यले शिविरको सञ्चालन भएपनि अन्य स्वास्थ्यसम्बन्धि अन्य क्षेत्रमा पनि पालिकाले विशेष कार्यक्रम बनाएर लागिरहेको छ । यो शिविरले बेनीघाट रोराङबासीमा राम्रो सञ्देश पुगेको महसुस गरेका छौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप