धादिङ– धादिङ अस्पतालको आर्थिक वर्ष २०८०/२०८१ को सेवाप्रवाहको अवस्थाबारे सामाजिक परीक्षण गरिएको छ । अस्पतालले प्रवाह गर्दै आएको सेवा प्रवाह, सेवाग्राहीको गुनासो तथा सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको हो ।
धादिङ मिडिया नेटवर्कको आयोजना र धादिङ अस्पतालको संयोजनमा मंगलबार सामाजिक परीक्षण गरेको हो । धादिङ अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ मा प्रवाह गरेका सेवाहरु, आर्थिक हिसाव किताव र जनताको गुनासोहरु तथा सुझावहरु समेटेर धादिङ मिडिया नेटवर्कका सहजकर्ता मनिष दुवाडीले रिपोर्ट सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको रिपोर्टमाथि छलफल गर्दै अस्पतालसंग सरोकार राख्ने नागरिक अगुवाहरुले अस्पतालले संचालन गरेका सेवाप्रवाहमाथि जिज्ञासा, टिप्पणी, तथा सुझाव दिएका छन् ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा अस्पतालले विगतका दिनहरुको तुलनामा केही वर्ष यता मारेको फड्कोको प्रशंसा गर्दै जिल्लाकै अस्पतालको रुपमा रहेको धादिङ अस्पतालप्रति नागरिकको अपेक्षा बढ्दै गएको बताएका छन् । पहिले भन्दा अस्पतालले सेवा प्रवाहमा सुधार गरेको छ । विशेषज्ञसहितको सेवाले अस्पतालप्रति आम नागरिकको विश्वास बढेको सहभागीहरुले बताएका छन् । अझै अस्पतालले थुप्रै कुराहरुमा सुधार तथा परिस्कृत गर्दै जानुपर्ने बताएका छन् ।
अस्पतालको भवनका लागि डिपिआर स्वीकृत गराउने कि परिमार्जन गर्ने भन्ने सवाल मूख्य रुपमा उठाएका छन् । अस्पतालमा डायलाइसिस गर्ने विरामी धेरै छन् । अस्पतालमा २० जनाले डायलाइसिस गरिरहेका छन् भने २२ जना पालो कुरिरहेका छन् । कर्मचारी र उपकरण अभावका कारण सेवा प्रभावित बनेको छ । सहभागीहरुले अस्पतालमा खानेपानी, शौचालय सरसफाई, अनलाइन टिकेट सेवा सुरु तथा विमाको लागि अर्काे काउन्टर स्थापना गर्ने, फिजियोथेरापी फराकिलो ठाउँमा राख्ने र उपकरण थप्ने, अस्पताल भवन अपाङ्गतामैत्री हुनु पर्ने जस्ता सवालहरु उठाएका छन् । त्यस्तै, स्वास्थ्य सम्बन्धि ज्ञान तथा चेतना दुर दराजसम्म पुर्याउनु पर्ने भन्दै स्थानीय रेडियो, टेलिभिजन तथा आम सञ्चार माध्यममा डाक्टरसँग नागरिक कार्यक्रम सुरु गर्न समेत सहभागीहरुले सुझाव दिएका छन् ।
कार्यक्रममा उठेका जिज्ञासा तथा सवालहरुको सम्बोधन गर्दै धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले अस्पताल प्रशासनको तर्फबाट समाधानका लागि हर प्रयास गरिरहेको बताए । ‘कतिपय दीर्घकालिन फाइदा पुग्ने योजना छन् । अस्पताल सञ्चालन समिति आइ सकेपछि तत्काल अगाडी बढाइनेछ । त्यस्तै, अस्पतालको नाममा विभिन्न फेसबुक पेज तथा अकाउण्टहरु चलिरहेका रहेछन् । नयाँ सूचना अधिकारीले नयाँ पेज बनाएर नयाँ अपडेट गर्नेछ’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप