काठमाडौं- अनौठो परम्परा बोकेको त्रिपुरासुन्दरी भगवती माइको प्रतिमूर्तिलाई माइतीघर सारिएको छ । एक वर्षभित्र घर, माइती र मावली सारिने भगवती माइलाई बुधबार ठूलो संख्यामा मानिसहरु बाटोको दायाँबायाँ बसेर पूजाआजा र अविरजात्रा गर्दै बाजागाजासहित भगवतीको घर सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपले चिनिने माइथानबेंसीको मन्दिरमा सारिएको हो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी गाउँपालिका–६ हाँसेबजारस्थित माइथानबेंसी सार्ने परम्परा छ । स्थानीय पुजारी अर्जुन सापकोटा भन्छन्– ‘बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन पाइदैन । विशेष किसिमको बाकसमा पूजा कपडाले घुम्टो ओडाएर राखिएको हुन्छ । बाटोको दायाँबायाँ बसेर देवीको दर्शन गर्ने र बाहिरबाटै फूल अक्षेता भेटी चडाउने परम्परा चलिआएको छ ।’
रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई पिँठ्युँमा बोकेका थिए । वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ । कपाल मात्र देखिने भगवतीको प्रतिमूर्तिलाई अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवाहरु, त्यसपछि दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र राखेर विशेष सुरक्षा अपनाइएको थियो ।
भगवतीलाई महिला दिदिबहिनीको भोगाईसँग तुलना गरिएको छ । विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्म घरमा बिताउनुपर्ने, दसैँतिहार जस्ता चाडपर्वमा मामाघर जाने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईंलाई तुलना गरिएको हो । वडा दसैँको चतुर्थीको दिन पूर्वतर्फ दसैँ घरबाट मूल मन्दिर सल्यानकोट सारिएको मूर्तिलाई बुधबार बिहानै न्वागी घर आगिञ्चोक हाँसेबजार मन्दिरमा सारिएको हो ।
रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मूर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन् । “प्रत्यक वर्ष मेला हेर्न आउँछौँ, तर छुन हेर्न पाइने भन्ने हुँदैन । परम्परादेखि नै चलिआएको चलन हो, हामीले यहि परम्परा मानेर पूजाआजा गरिरहेका छौं’, सापकोटाले भने ।
सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरका रुपमा प्रसिद्ध छ । मङ्सिरदेखि चैतसम्म भगवतीलाई माइतिको रुपले चिनिने बेंसीको मन्दिरमा राखिन्छ । बाँकी आठ महिना सल्यानकोटकै पश्चिम थुम्कामा रहेको मुल मन्दिर राखेर पूजाआजा गरिने चलन छ ।
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेका थिए । राति सपनामा एक बालिकाले आशीर्वाद दिएको किम्वदन्ती रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप