काठमाडौं- धादिङमा बहिरा बालबालिकाबीच मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिएको छ । अपाङ्गता भएका बालबालिकाहरुको आत्मविश्वास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालका विभिन्न जिल्लाबाट धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्वी बहिरा आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाबीच गुच्चा चम्चा दौड, बेलुन फुटाई, बिस्कुट खाने जस्ता प्रतियोगिता गरिएको हो । ३३औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङले प्रतियोगिताको आयोजना हो । यस्ता प्रतियोगिताहरूले उनीहरूको क्षमतालाई उजागर गरी समाजलाई थप समावेशी बन्न प्रेरित गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । यसले सिर्जनात्मक क्षेत्रहरूमा अद्भुत योगदान पुर्याउन सहयोग गरेको उनको भनाई छ ।
बोल्न र सुन्न नसक्ने बालबालिकाहरूको आत्मविश्वास बढाउन तथा प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङकी प्रहरी नायव उपरीक्षक लक्ष्मी थपलियाले बताए । ‘बोल्न र सुन्न नसक्ने बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गराउने हाम्रो उद्देश्य हो, यो प्रतियोगिताले समावेशीता र समानताप्रतिको सन्देश प्रवाह गर्ने विश्वास छ’, उनले भने ।
हातको इसारा तथा संकेतबाट संवाद गर्ने बालबालिकाहरूले खेलमा आफ्ना सपना र साहसलाई रंगीन बनाउँदै जीवनको एक अद्वितीय उत्सव प्रस्तुत गरेका थिए । तीन वटै प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय बालबालिकालाई पुरस्कृत गरिएको छ । कार्यक्रमकै अवसर पारेर एक महिनाभित्र जन्मदिन परेका गुल्मका सुरक्षाकर्मीहरु र बुधबार (आज) जन्मदिन परेका कार्यक्रममा सहभागी बालबालिकाहरुको सामुहिक जन्मदिन मनाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप