काठमाडौं– फोटो मार्फत इतिहास खोज्नेहरुका लागि तस्विर आफैमा एउटा सङ्ग्रह हो । हजारौं शब्दले व्याख्या गर्न नसकेका कुरा एउटै फोटो वा भिडियोले बुझाउँन सक्छ । यसो त मानिसहरु फोटो तथा भिडियो मार्फत आफ्ना अनुभवहरु संग्रह गर्न चाहन्छन् । त्यसैले पनि फोटो तथा भिडियोग्राफीहरुको माग बढ्न थालेको छ ।
प्रविधिसँग जोड्न र युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय गजुरीले केही वर्ष यता फोटो तथा भिडियोग्राफी तालिम सञ्चालन गर्दै आएको छ । सोही अन्तर्गत सञ्चालित तीन महिने फोटो तथा भिडियोग्राफी तालिमको एक कार्यक्रमकाविच विहीबार समापन गरिएको छ । फोटो र भिडियोग्राफी तालिमसँगै मोवाइल मर्मत, व्यूटीपार्लर र सिलाई बुनाई र विद्युत जडान तालिम सम्पन्न गरिएको हो ।
तालिममा सहभागीहरुले प्रविधिको युग भएका कारण प्रविधिको प्रयोगबाटै आयआर्जन गर्न सकिने बताएका छन् । ‘विवाह, व्रतबन्ध, गुफा होस् वा कुनै पनि भोजभतेर हरेकले फोटो तथा भिडियो खिचेर मेमोरीको रुपमा राख्छन्’ तालिममा सहभागी भएका भुवन महर्जन भन्छन्– ‘पेशाकै रुपमा फोटो तथा भिडियोग्राफी रोज्यौं । यही क्षेत्रमा लागेका हामीलाई यो तालिमले थप दक्षता थपिदा उत्साहसँगै आयआर्जनलाई सहयोग पुगेको छ । अभै एड्भान्स भिडियोग्राफी तालिम भइदिए हामीलाई थप सहज हुने थियो । हाम्रो फोटो तथा भिडियोग्राफी टिम आयोजक परिवारप्रति आभारी छौं ।’
तालिमले व्यवसायी बन्ने हौसला थपेको तीन महिने मोवाइल मर्मत तालिम लिएका भुवन श्रेष्ठ बताउँछन् । ‘हरेकको हातमा मोवाइल छन् । जे कुरा बढी प्रयोग हुन्छ, त्यहि कुरामा हामीले लगानी गर्न सक्यौं भने राम्रो फाइदा लिन सकिन्छ’ उनले भने– ‘यो तालिमले हामीलाई काउकुती लगाएको छ । अझै एड्भान्स तालिम लिएर व्यवसायी बन्ने उत्साह थपेको छ । सीपले दक्षता मात्र होइन, आत्मनिर्भर बनाउनेमा हामी ढुक्क छौं ।’
तालिममा सहभागी भएकाहरुले तालिममा सीपको प्रयोग गरी आत्मनिर्भर बन्नेमा सामाजिक विकास कार्यालय विश्वस्त रहेको तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय गजुरीका प्रमुख लोक बहादुर वाइबाले बताए । ‘हामीले बाटो देखाउने हो । खानेकुरा दिए एक छाकलाई हुन्छ, सीप दिए जीन्दगी भरलाई । त्यसैले युवालाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा छौं’ उनले भने– ‘यो तालिम सफल पार्न हामी भन्दा तपाई प्रशिक्षार्थीहरुको ठूलो भूमिका रहन्छ । तालिम लिएका तपाईहरु सम्बन्धित क्षेत्रमा देख्न पायौं भने हामीले ठूलो सफलाताको महसुस गर्नेछौं । तपाईहरुलाई शुभकामना र बधाई छ ।’
तीन महिने तालिममा फोटो र भिडियोग्राफीका १७ जना, मोवाईल मर्मतमा १० जना, व्यूटीपार्लरमा २० जना, सिलाई बुनाईतर्फ १८ जना र विद्युत जडानमा ९ जना सहभागी रहेका थिए ।
विगत २०६७ सालदेखि निरन्तर रुपमा यस कार्यालयले व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्दै आएको प्रशिक्षक नवराज श्रेष्ठले बताए । ‘यो अवधिमा धेरैले तालिम लिए । कतिपय तालिम लिएर सम्बन्धित क्षेत्रमा काम गरिरहेका छन्’ उनले भने– ‘तालिम लिएका युवाहरु रोजगारीमा लागेका छन् । धेरैले त आफ्नै व्यवसाय गरिरहेका छन् । केहीलाई भए पनि आत्मनिर्भर बनेका छन् । उहाँहरुको सफलता हाम्रो कार्यालयको उपलब्धि हो । मन्त्रालयले यो तालिमहरु निरन्तर रुपमा सञ्चालन गरिरहेमा अझै धेरै युवा साथीहरुलाई दक्षसँगै आत्मनिर्भर बनाउन सकिन्छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप