काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ ।
चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानाजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप