काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–११ धमला गाउँमा स्वर्गीय दुर्गा प्रसाद धमलाको शालिक अनवारण गरीएको छ । ४५औँ दिनको पुण्य तिथिको अवसरमा पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शालिक अनवारण गरेका हुन् ।
वि.स.१९८८ सालमा जन्मिएका धमलाको वि.स.२०८१ मंसिर १ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । शालिक अनावरण गर्दैै पुर्व प्रधानमन्त्री दाहालले स्वर्गीय दुर्गा प्रसाद धमलाले तत्कालिन रुपमा सामाजिक क्रान्ति गरी समाज परिवर्तनको सुरुवात गरेको बताएका छन् । ‘पञ्चायत कालमा समेत सबैसँग मिलेर सामाजिक रुपान्तरण र जिल्लाको विकासको लागि ठुलो योगदान पुर्याउनु भएको छ । उहाँको त्यो योगदान आजका पुस्ताका लागि प्रेरणा बनेको छ ।’
यसैगरी पुर्व गृहमन्त्री तथा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले धमला विकासप्रेमी रहेको बताएका छन् । ‘आफुलाई उत्तरी धादिङको विकास गर्न र पुल निर्माणमा लाग्नको लागि आग्रह गर्नुभएको थियो’ उनले भने– ‘वि.स.२०४२ सालमा उत्तरी क्षेत्रका खोलाहरुमा पुल निर्माण गर्न, ज्यामरुङमा हाईस्कुलन निमार्ण गर्न र त्यहि बेलामा पनि गुठी समस्या समाधान गर्नको लागि छलफल चलाउनु भएको थियो । धमला एक निस्वार्थी, निडर र विकासप्रेमी नेता हुन् । हामी उहाँलाई सदैव सम्झिरहन्छौं ।’
यसैगरी नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले स्वर्गीय धमलाको जीवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए । तत्कालिन समयमा धमलाले गरेका कामहरुको प्रशंसा गर्दै अहिलेको पुस्ताले धेरै कुरा सिक्नुपर्ने उनको भनाई छ ।
चिनका लागि पुर्व राजदुत विष्णुपुकार श्रेष्ठले तत्कालिन रुपमा पार्टीको गतिविधि चलाउनको लागि स्वर्गीय दुर्गा प्रसाद धमलाले धेरै सहयोग गरेको स्मरण गरे । सराकात्मक, उत्प्रेरणा र निस्वार्थ भावना भएका धमलाको निधनले समाजलाई ठुलो क्षति पुगेको उनले बताए ।
बुबाको स्मरण गर्दै (छोरी) पुर्व मन्त्री कल्पना धमलाले बुबाको कारण आफुले राजनितिक क्षेत्रमा सफलता हात पारेको बताइन् । ‘छोरीहरुलाई पढाउनु हुदैन भन्ने समाजलाई चिर्दै उहाँले परिवारलाई शिक्षा दिक्षा दिनुभयो । बुबालाई म परिवर्तनको संवाहकको रुपमा लिन्छु । बुबाले परिवारलाई मात्रै होईन समाजलाई पनि ठुलो योगदान दिनु भएको छ । लामो समय सामाजिक रुपान्तरण र समाज परिवर्तनको क्षेत्रमा काम गर्नुभएको बुबाको सम्झना स्वरुप गाउँमै शालिक निर्माण गरिएको हो’ उनले भनिन् ।
धमलाको योगदान राजनितिक क्षेत्रमा मात्र नभएर कृषि, शिक्षा, सामाजिक रुपान्तरणमा समेत उनले ठूलो भूमिका खेलेको स्थानियहरु बताउँछन् । वि.स. २०४० सालमा आफ्नो जग्गामा ६ सय सुन्तला लगाएर रोजगारी दिएको स्थानीय चन्द्र लम्साल बताउँछन् । जिल्लामा पहिलो पटक कफी खेती शुरु गरेका हुन् ।
शालिक अनवारण कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री किशोर सिंह राठौंर, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पुर्व मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, गुरु बुर्लाकोटी, प्रदेश सांसद गोविन्द लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला लगायत विभिन्न राजनितिक दलहरुका प्रमुख एवम् प्रतिनिधिहरुले धमलाको प्रशंसा गरेका छन् ।
अग्रज पुस्ताको सम्मानको संस्कृति विकास गर्ने उदेश्यको साथ शालिक निर्माण गरिएको हो । कार्यक्रममा स्वर्गीय दुर्गा प्रसाद धमलाको जीवन कालमा सहयोग गर्ने लुगा सिलाउने, भाँडाकुडाँ बनाउने, पुजापाठ गर्ने र खेतीपातीमा सहयोग गर्नेहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
धादिङको ज्यामरुङ धमला गाउँमा जन्मिएका दुर्गा प्रसाद धमला पिता सुर्य प्रसाद धमला र माता पद्म कुमारी धमलाको चार सन्तान(दुई छोरा–दुई छोरी) मध्ये माहिलो सन्तान कान्छो सुपुत्र हुन् । गुरुकुल शिक्षा मार्फत कामकाजी, ज्योतिष तथा धार्मिक ग्रन्थहरुको अध्ययन, स्थानीय जडिबुटी एवं आयुर्वेद विज्ञानको समेत ज्ञान र उपचार गर्थे । ४ बर्ष सरकारी कर्मचारीको रुपमा तथ्यांक विभागमा सेवा गरे । वि.स.२०३० को दशकमा छोराछोरीलाई विद्यालय पठाउने उदाहरणीय व्यक्ति, निडर, हक्की, कसैसँग नझुक्ने व्यक्ति र सामाजिक रुपान्तरणमा सम्झिरहने व्यक्तिको रुपमा परिचित व्यक्तित्व हुन्, दुर्गा प्रसाद धमला । उनले संसार छाडेर गएपनि उनका देन, अनुभव, भोगाइ र उनले देखाएका बाटोहरु आजका पुस्ताका लागि मार्ग दर्शन बनेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप