काठामाडौं- गृह जिल्ला आएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवम् पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल (डिपी) ले धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसँग धादिङका सवालका विषयमा छलफल गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले प्रयोग गर्दै आएको रक्तसञ्चार सेवा केन्द्र र आयआर्जन भवनको विषयमा छलफल गरेको छ । ‘व्लड बैकलाई कोठा उपलब्ध गराउनु पर्छ । तर अस्पताल परिसरमा बनेको भवन अस्पतालले पाउनु पर्ने हाम्रो माग हो । अस्पताल र रेडक्रसविचको पुरानो सम्झौता सर्वसाधारणले थाहा पाउनु पर्ने अर्यालसहितको रास्वपा टोलीले माग राखेको छ’ रास्वपा धादिङका र्यापिट एक्सन टिमका जिल्ला संयोजक दिपक अधिकारीले भने– ‘धादिङ अस्पताल परिसरमा बनेको भवन धादिङ अस्पतालले प्रयोग गर्न पाउनु पर्छ । प्रयोग नै गर्न नपाएपनि भवनबाट भएको मासिक करिव एक लाख ३० हजार भन्दा बढी उठ्ने भाडा धादिङ अस्पतालले पाउनु पर्ने माग राखिएको छ । छलफलकै क्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले धादिङ अस्पतालको यो समस्या एक हप्ताभित्रमा समाधान हुने बताउनु भएको छ ।’
रक्तसञ्चार सेवा केन्द्र धादिङ सञ्चालन र आयआर्जन भवन बनाउनका लागि धादिङ अस्पताल, स्वास्थ्य कार्यालय र मन्त्री स्तरीय निर्णय पश्चात भवन बनेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले बताउदै आएको छ । जग्गा स्वास्थ्य विभागकै नाममा रहने तर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले प्रयोग गर्ने गरि रक्तसञ्चार सेवा केन्द्र बनाउन र आयआर्जन भवनका लागि जग्गा दिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङसँग यो कागजपत्र सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले जनाउदै आएको छ ।
धादिङ आइपुगेका अर्यालले जिल्ला कार्य समितिको वैठकको सम्बोधन गर्दै रास्वपाको सभापति रवि लामिछाने निर्दोष रहेको बताएका छन् । रास्वपा सकाउने खेल मात्र भएको उनको दावी छ । धादिङको विकास निर्माण, सुशासन लगायतका विषयमा रास्वपाले प्राथमिकता दिएको बताए । जिल्ला कार्य समितिको वैठकको अवसरमा रास्वपाको र्यापिट एक्सन टिम गठन गरेको छ । टिमको जिल्ला संयोजकमा दिपक अधिकारीलाई चयन गरेको छ । सदस्यहरु प्रत्येक पालिकाबाट एक/एक जना चयन गरिने संयोजक अधिकारीले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप