बेनीघाट रोराङ गाउँपालिकामा सिकाई प्रभावकारी बन्दै शिक्षकको घुम्ती बैठक

  • २०८१ माघ १३, आईतबार (३ दिन अघि)
  • १६२ पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिकामा सिकाई प्रभावकारी बन्दै शिक्षकको घुम्ती बैठक

धादिङ– बेनिघाट रोराङ गाउँपालिकाका बाल विकास शिक्षकहरूले त्रैमासिक घुम्ती बैठक मार्फत असल अभ्यासहरूको आदानप्रदान गर्दै आएका छन्। बैठकमा आफ्ना विद्यालयका सफल र असल अभ्यासहरू छिमेकी विद्यालयसँग साझा गर्ने र छिमेकी विद्यालयमा भएका प्रभावकारी अभ्यासहरू आत्मसात गर्ने कार्यले बाल विकास कक्षाका बालबालिकाहरुको सिकाई प्रभावकारीतामा महत्वपूर्ण भूमिका खेलेको छ।

Advertisement

त्रैमासिक बैठकमा सहभागी हुनको लागि आउदा बाल विकास कक्षाका लागि शिक्षकहरूले आफैँले निर्माण गरेका शैक्षिक सामग्रीहरू कोसेली लिएर आउने असल अभ्यास थालनी भएको पञ्चकन्या माविका बाल विकास शिक्षक अनुष्का मगरले बताइन् । यसरी आफैंले निर्माण गरेको शैक्षिक सामाग्री बालविकास कक्षाका लागि सिकाई उपयुक्त हुने, बालमैत्री वातावरण सिर्जना गर्न साथै यस्तो अभ्यासले अभिभावकहरूको लागि पनि उत्प्रेरित गराई विद्यालयमा सहभागिता वृद्धि गराउन र न्यूनतम मापदण्ड पूरा गर्दै विधिसम्मत कक्षा सञ्चालनमा टेवा पुगेको जनप्रभात आविका सरस्वती चेपाङको अनुभव छ ।

बेनिघाटरोराङ गाउँपालिकाका वडा नं. ६, ८, र १० का १९ सामुदायिक विद्यालयहरूमा प्रयास नेपाल धादिङले चाईल्ड फण्ड जापानको साझेदारीमा शिक्षामा पहुँच कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमले बाल विकास कक्षाका शिक्षकहरूको क्षमता विकास, कक्षाको बसाइ व्यवस्थापन, र अभिभावक शिक्षा सत्र सञ्चालनमा सहयोग गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । बालबालिकामा लगानी गर्नु भनेको नयाँ घर बनाउनु जस्तो भएकाले बालबालिकामा लगानी गरि मावनपुँजि निर्माण सहयोग गरिएको अर्यालको भनाई छ ।

घुम्ती बैठकमा अनुभव आदानप्रदानले बाल विकास कक्षा प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग गरेको धुषा आधारभूत विद्यालयकी प्रधानाध्यापक सीता घलेले बताइन् । बालबालिकाको उपस्थितिमा सुधार आएको र कक्षा प्रभावकारी भएको सिद्धकाली बाल विकास कक्षाका सहजकर्ता दुर्गा चेपाङ र गोठी भज्याङ आधारभूत विद्यालयकी सानुमाया चेपाङको अनुभव छ । क्लष्टर घुम्ती बैठकहरूले बाल विकास कक्षाको गुणस्तर सुधार्न र बालबालिकाको समग्र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव परेको बेनिघाट रोराङ गाउँपालिका-६ का वडाध्यक्ष टेकनाथ सिलवालको भनाइ छ ।

१९ सामुदायिक विद्यालयहरुलाई वडा अनुसार ३ क्लष्टरमा विभाजन गरि त्रैमासिक रुपमा अन्तरक्रियात्मक अनुभव आदानप्रदान गर्ने गरिएको फिल्ड कार्यक्रम अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट