काठमाडौं– धादिङमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । धादिङ फुटबल क्लबले आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ गर्न लागेको हो ।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा ज्यान गुमाएका नीलकण्ठ नगरपालिका-३ का सुमन श्रेष्ठको सम्मान स्वरुप उनकै नाममा खुल्ला फुटबलको आयोजना गरिएको मंगलबार पत्रकार सम्मलेन गरि जानकारी दिएको हो ।
मृतक सुमनको सम्मान र खेलाडीहरुलाई प्रोत्साहनका लागि खुल्ल फुटबलको आयोजना गरिएको क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताए । उनले भने-‘यो प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्लवले सहभागी हुन पाउनेछ । खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छैन । देश विदेशबाट प्रतियोगितामा सहभागी हुने पाउँछन् ।’
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले बताए । धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने उनले बताए ।
२०८१ फागुन १२ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ । नाइन ‘ए’ साइड खेल हुने क्लवका सचिव सरोज पाण्डेले बताए । त्यस्तै खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने उनले बताए । म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप