काठमाडौं– धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदाको विषयमा विवाद देखिएको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले दिएको बिदालाई उपाध्यक्ष शर्मिला बिसुरालले विदा नहुने भन्दै सूचना निकालेकी छिन् ।
बुधवार अध्यक्ष श्रेष्ठले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेका थिए । तर अध्यक्ष श्रेष्ठले बिदाको सूचना सार्वजनिक गरे लगत्तै उपाध्यक्ष शर्मिमा बिसुरालले गाउँ कार्यपालिकाको बैठकले कुनै निर्णय नगरेको भन्दै सार्वजनिक बिदा नहुने सूचना प्रकाशित गरेकी छिन् ।
गाउँपालिकाभित्रका सबै निकायहरूलाई कार्यालय संचालन गर्न आग्रह गरेकी छिन् । गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार फागुन १ गते सार्वजनिक बिदा नहुने बेहोरा उल्लेख गर्दै सर्वोच्च अदालतबाट पनि सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकोले बिदा नहुने प्रस्ट पारेकी छन् ।
सूचना प्रकाशनमा अध्यक्ष र उपाध्यक्षविच दोहोरी चलेको छ । ‘उपाध्यक्षले कार्यालय खुल्ने सूचना निकालेपनि आधिकारीक निकायले सूचना पहिले नै निकालेको हो । हाम्रो पालिकामा आज सार्वजनिक विदा हो’ अध्यक्ष श्रेष्ठले भने ।
गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष बिसुराल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा दुवै जना एकै गठबन्धनका उम्मेदवार थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप