काठमाडौं– नेपालमा अहिलेसम्म साढे ११ लाख भन्दा धेरै किशोरीहरुले पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएका छन् । माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा धेरैले खोप लगाएको वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भइरहेको हो । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य छ ।
महाशाखाका अनुसार अहिलेसम्म सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले खोप लगाएका छन् । मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जना किशोरीले खोप लगाएका महाशाखाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप