काठमाडौं– धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुगमनबाट अस्पतालले ८२ अंक ल्याएको हो ।
२०८० पौष ३ गतेदेखि एक सय शैयामा स्तरोन्नती भएपछि पहिलो पटक न्यूनतम सेवा मापदण्डको मापन गरिएको हो । एक कार्यक्रमकाविच अस्पतालले न्यूनतम सेवा मापदण्डमा ल्याएको अंक सार्वजनिक गरिएको हो ।
२०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल २०४५ सालमा १५ शैया, २०७६ मा ५० शैया र २०८० पौष ३ गते एक सय शैयामा स्तरोन्नति भएको हो । सिमित श्रोत साधन, कर्मचारी, भौतिक संरचनाको अभाव तथा विभिन्न चुनौतिका बाबजुध पनि अस्पतालले एक सय शैया क्षमताको सेवा प्रवाह गरिरहेको छ । जिल्लामा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह भइ रहेको छ ।
मूल्याङ्कन टोलीका डाक्टर नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्याङ्कन गर्दा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको हो ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी सार्वजनिक कार्यक्रममा विशेषज्ञ सेवा, ल्याव सेवा, ईमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारिता रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै नयाँ भवन निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन सुझाव दिइएको छ ।
विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमो डायलासिस सेवाको लागि बिग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नुपर्ने, विपद व्यवस्थापनका लागि थप आवश्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानको लिलामी गर्नुपर्ने लगायतका सुझाव विज्ञ टोलीले दिएको छ ।
अस्पतालको विषयमा आएका सुझाव, गुनासोहरु मार्गदर्शन भएकोले आगामी दिनमा यसलाई कार्ययोजना बनाएर थप काम गर्ने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् । अस्पतालका निमित्त निर्देशक डाक्टर गगन अधिकारीले अस्पतालले प्रवाह गर्दै आएको सेवा तथा सुविधाका विषयमा प्रस्तृतिकरण राख्दै अस्पताललाई थप सेवा चुस्त दुरुस्त बनाउने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतले अस्पतालको सेवा र गुणस्तरको प्रशंसा गर्दै निरन्तर कायम राख्न अस्पताललाई अनुरोध गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप