काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई आर्थिक वर्ष २०८०८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा ढिलो विवरण बुझाएको भन्दै शुन्य अंक दिएको हो ।
घिसिङले कार्यसम्पादन करार बमेजिम प्रगति प्रतिवेदन समयमा नबुझाएकाले उनलाई शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । कार्यसम्पादन करार गर्दा नै सार्वजनिक संस्थानका प्रमुखको कार्यसम्पादन मूल्यांकन भदौ मसान्तसम्म बुझाउनुपर्ने भन्ने व्यवस्था रहेको छ । मन्त्रालयले बारम्बार ताकेता गरेपछि पुस २५ गते मात्रै बझाएको बताइएको छ ।
कार्यकारी निर्देशक घिसिङले भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेको कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गरी कार्यसम्पादन सूचांक विवरण पेस गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले केही दिनअघि सोधको प्रष्टीकरणमा घिसिङले प्राधिकरणले गरेको प्रगति नै आफ्नो मूल्यांकन भएको जवाफ मन्त्रालयमा पठाएका थिए ।
मन्त्रालयमा प्रष्टीकरण बुझाएसँगै कार्यकारी निर्देशक घिसिङले आफू आएपछिका आठ वर्षमा प्राधिकरणले कमाएको नाफाको विवरण सार्वजनिक गरेका थिए । उनले आफू आउँदा ५०–५५ प्रतिशत रहेको विद्युतको पहुँच ९९ प्रतिशत पु¥याएको, लोडसेडिङ अन्त्य गराएको र निरन्तर नोक्सानमा रहेको प्राधिकरणलाई नाफामा लैजान सफल भएको बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप