काठमाडौं- धादिङको गल्छी गाउँपालिकाका तीनवटा वडा बालमैत्री वडा घोषणा हुने तयारीमा रहेका छन् । चारवर्षदेखिको बालमैत्री स्थानीय शासनका तयारीका कार्यक्रम संचालन गरि नितिगत, संस्थागत र कार्यक्रमगत योजनाहरु लागु गरेको गल्छी गाउँपालिकाका तिनवटा वडाहरु बालमैत्री वडा घोषणा हुने भएका हुन् ।
गल्छी गाउँपालिका वडा नम्बर ७, १ र २ मा जिल्ला अनुगमन समितिले बालक्लबको प्रतिनिधि सहित स्थलगत अनुगमन गरेको थियो । अनुगमनको आधारमा भएको समिक्षा बैठकले बालमैत्री वडा घोषणाको लागि जिल्ला समन्वय समितिलाई सिफारिस गरिएको छ ।
बालमैत्री शासन जिल्ला अनुगमन समितिको बैठकले वडाहरुमा गरिएको अनुगमनमा देखिएका र भएका गतिविधिको समीक्षा गर्दै सुझाव सहित जिल्ला समन्वय समितिलाई बालमैत्री स्थानीय शासनका लागि बालमैत्री वडा घोषणा गर्न सिफारिस गरेको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकारी दिए ।
नेपाल सरकारले तोकेका बाल संरक्षण, बाल विकास, बाल संरक्षण र बाल सहभागिता तथा संस्थागत तथा नितिगत सुधार समेत गरि ५१ ओटा सूचकमा रहेर वडाहरुमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।
बालमैत्री स्थानीय शासन पूर्ण रुपमा लागु भएपछि विकासमा आधारभुत विषयहरु निति योजना र कार्यक्रम कायान्वयन भएको अवस्थामा पुगेको छ । बालबालिकाको सबै किसिमको निति निर्माण तहमा निर्णायक रुपमा सहभागिता समेत हुने व्यवस्था रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप