काठमाडौं– धादिङकाे नेत्रावती डबजाेङ गाउँपालिका- ३ सेमजाेङमा ११ वर्षसम्म छाप्रामा रहेको नेपाल प्रहरीले अब पक्की भवन पाएकाे छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी नायव महानिरिक्षक कृष्णहरी शर्माले नवनिर्मित भवनकाे उद्घाटन गरेका हुन् । भवन उद्घाटनसंगै प्रहरी चाैकी सेमजाेङकाे सेवा समेत साेहि भवनबाट सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
११ वर्षअघि सेमजाेङमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चाैकी स्थापना गरिएकाे थियाे । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ कराेड ६४ लाख ३१ हजार २ सय ४१ रुपियाँको लागतमा प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
दुई चरणमा निर्माण गरेर भवन निर्माण गरिएकाे हाे । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विनियाेजन गरेकाे ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी इकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधिन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामिछानेले बताए ।
नवनिर्मित भवनको भुई तल्लामा कार्यालय प्रमूख कक्ष, छुट्टा छुट्टै शौचालय सुविधा सहितको छुट्टाछुट्टै महिला/पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू ११५ डबर्ग मिटरमा ब्यवस्थापन गरिएको छ । यसै भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्ष समेत रहेकाे छ ।
कार्यक्रममा नेत्रावती डबजाेङ गाउँ पालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी माेहन न्याैपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजाेङ गाउँ पालिका-३ का वडा अध्यक्ष सुरेश तामाङ लगायतले शुभकामना व्यक्त भवन निर्माणपछि सेवामा सहज र प्रभावकारी हुने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप