धादिङ- बेनीघाट रोराङ गाउँपालिका–६ स्यादुलका विपन्न चेपाङ परिवारलाई ब्याडे बोका तथा बाख्रा वितरण गरिएको छ । चाईल्ड फण्ड जापानको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाले बाख्रापालन उद्यम मार्फत जिविकोपार्जन तथा बालबालिकाको पोषण सुधार र शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले बोका तथा बाख्रा वितरण गरिएको हो ।
विपन्न परिवारहरुलाई प्रति परिवार ५ वटा बाख्रा र व्याडे बोका सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । ७ परिवारलाई ३७ वटा बाख्रा र ७ वटा ब्याडे बोका वितरण गरिएको हो । बालबालिकाहरु पोषण अवस्थाका कमजोर भएका र अभिभावकमा शिक्षाको कमीले गर्दा विद्यालय नियमितता नहुने हुदाँ वडा कार्यालयसँगको समन्वय विपन्न परिवारको बाख्रापालनको व्यवसायिक योजना आधारमा तालिम पछि सुधारिएको खोर निर्माण बाख्रा तथा नश्ल सुधारको लागि ब्याडे बोका सहयोग गरिएको संस्थाका परियोजना व्यवस्थापक सन्तोष सल्यानले बताए ।
बिगत २ बर्ष देखि बेनिघाटरोराङ वडा ६, ८ र १० का भौगोलिक रुपमा विकट स्थानका १९ विद्यालयहरुका शिक्षामा पहुँच सुनिश्चितता परियोजना मार्फत प्रयास नेपाल धादिङले सहयोग गर्दै आई रहेको छ । बाख्रा र ब्याड बोका पाएका लाभग्राहीहरुले खुशी व्यक्त गरेका छन् । बाख्रापालन सम्बन्धि तालिम पनि पायौं , सुधारिएको खोर निर्माण गर्न पनि सहयोग पायौं । आज उन्नत जातको ब्याड बोका सहित बाख्रा दिनु भयो अब आम्दानीको बाटो खुलेको छ । परिवार मिलेर बाख्रापालनलाई कृषि उद्यमको रुपमा विकास गर्नेछौ । आएको आम्दानी बालबालिका तथा परिवारको पोषण सुधार र बालबालिकाको शिक्षामा लगानी गर्ने हिमाली चेपाङ, मदन चेपाङ, सुर्य बहादुर चेपाङ, टिकामायाँ सुर्खेती, विजय चेपाङ लगायतले बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप