धादिङ– धादिङका युवाहरुलाई ६ महिने कम्प्यूटर तालिम दिइएको छ । प्रविधिसँग जोड्न र युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय गजुरीले सञ्चालन गरेको तालिम मंगलबार एक कार्यक्रमकाविच समापन गरिएको हो ।
तालिममा सहभागीहरुले प्रविधिको युग भएका कारण प्रविधिको प्रयोगबाटै आयआर्जन गर्न सकिने बताएका छन् । ‘कुनै पनि जागिर वा लोक सेवा जस्ता काम गर्नका लागि कम्प्यूटर पहिलो आवश्यकता हो ।’ तालिममा सहभागी भएका सितल श्रेष्ठ भन्छन्– ‘६ महिनासम्म कम्प्यूटर सम्बन्धि धेरै खालका ज्ञान हासिल भयो । जागिर तथा अन्य काममा पनि यसले महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरेका छौं । यो तालिम सञ्चालन गर्ने सामाजिक विकास कार्यालय गजुरीप्रति आभारी छौं ।’
तालिममा सिकेका ज्ञान व्यवहारमा लागू गर्ने यमुना गुरुङले बताइन् । ‘एउटै कोर्ष ६ महिनासम्म के सिक्यो भन्नेहरु पनि भए । तर सिप सिकेर खेर जाने चिज होइन । कहीकतै काम लाग्छ । महिलाहरुका लागि त झनै ठूलो महत्व राख्दछ । यो तालिमले अन्य क्षेत्रमा काम गर्न जागिरे जीवन होस् वा आफ्नै व्यवसाय गर्न ठूलो सहयोग मिल्नेछ’ उनले भनिन् ।
तालिममा सहभागी भएकाहरुले तालिममा सीपको प्रयोग गरी आत्मनिर्भर बन्नेमा सामाजिक विकास कार्यालय विश्वस्त रहेको तालिम समापन समारोहका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास कार्यालय गजुरीका प्रमुख लोक बहादुर वाइबाले बताए । ‘हामीले बाटो देखाउने हो । खानेकुरा दिए एक छाकलाई हुन्छ, सीप दिए जीन्दगी भरलाई । त्यसैले युवालाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउने अभियानमा छौं’ उनले भने– ‘यो तालिम सफल पार्न हामी भन्दा तपाई प्रशिक्षार्थीहरुको ठूलो भूमिका रहन्छ । तालिम लिएका तपाईहरु सम्बन्धित क्षेत्रमा देख्न पायौं भने हामीले ठूलो सफलाताको महसुस गर्नेछौं । तालिम लिएकाहरुले लोक सेवा लडेर सफल बन्नुहोस् । यो तालिमले सहयोग पुग्ने अपेक्षा गरेका छौं तपाईहरुलाई शुभकामना र बधाई छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप