काठमाडौं– धादिङमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नयाँलाई पत्रकारितामा ल्याउने र पत्रकारितामा भविष्य खोज्दै गरेकाहरुको क्षमता विकास गर्ने उद्देश्यले धादिङबेसीमा तीन दिने तालिम सुरु गरिएको हो ।
नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जले तालिमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)धादिङको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माले पत्रकारिता क्षेत्र सामाजिक रुपान्तरणको संवाहक रहेका बताए । ‘पत्रकारिता राज्यको चौथो अंग हो । पत्रकारिताको माध्यमबाट देश विकास र सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुगेको छ । सुशासन कायम तथा कुसंस्कारको अन्त्य गरि सभ्य र समृद्ध समाज निर्माणमा पत्रकार तथा संचार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ’ उनले भने– ‘सामाजिक रुपान्तरणको संवाहकको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई अब्बल बनाउन नगरपालिकाले विगतका दिनमा पनि सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास तथा अन्य कार्यमा साझेदारी गर्ने छ ।’
तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोजिन) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकारिताका आधारभूत ज्ञान, समाचारको रुपरेखा, समाचारका प्रकार, समाचार लेखन तथा पत्रकारिता क्षेत्रको प्रभावकारिताका विषयमा सहजीकरण गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप