रैथाने धादिङ खाना तथा कृषि पर्यटन महोत्सव नाममा मात्रै सिमित

रैथाने धादिङ खाना तथा कृषि पर्यटन महोत्सव नाममा मात्रै सिमित

काठमाडौं-  धादिङको गजुरी गाउँपालिका– ५ गलौदीमा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सुरु भएको छ । त्रिशुली किनारा र पृथ्वी राजमार्गको विचमा रहेको गलौदीमा रैथाने खाना, कृषि तथा पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारबाट महोत्सव सुरु भएको हो ।

Advertisement

बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिमा आत्मनिर्भर तथा पर्यटनलाई जोड दिनु पर्ने बताएका छन् । रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले जिविकोपार्जन भन्दा कृषिलाई व्यवसायिक रुपमा लगेर पर्यटनलाई सँगसँगै जोड्न सके धादिङको विकासमा ठूलो सहयोग पुग्ने बताएका हुन् ।

कृषि मन्त्री पाएको धादिङले धादिङमै आयोजना भएको कृृषि महोत्सवमा न कृषिजन्य उत्पादन पायो न उद्घाटन समारोहमा कृषि मन्त्री । गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाक्रेको उखु लगायतका उत्पादनले प्रसिद्ध रहेका छन् । तर महोत्सवको नाममा दर्शकलाई ठग्ने गरेको महोत्सव अवलोकन गर्दै गरेकी संगिता डल्लाकोटी बताउँछिन् । ‘महोत्सवमा कृषिजन्य उत्पादन एउटा स्टलमा एउटा बन्दा, एउटा मकै र एउटा खुर्सानीको बोट मात्रै रहेको छ । होटलहरुमा विभिन्न परिकार रहेपनि रैथाने परिकारको स्वाद चखाउने एउटै परिकार छैन’ उनले गुनासो पोखिन् ।

जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सिमित बनेको हो । रैथाने खाना, कृषि, पर्यटन नाम जोडेर आयोजना गरिएको महोत्सवको मूख्य प्रायोजक हिमालयन वियर रहेको छ । महोत्सवमा कुषिजन्य उत्पादन तथा रैथाने खानेकुरा नहुदाँ उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत भन्दा बढी स्टलहरु खाली रहेका छन् ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले महोत्सवको नाम अनुसार रैथाने खाना तथा कृषिजन्य उत्पादन राखिनु पर्ने बताए । ‘महोत्सवमा रैथाने खाना तथा कृषिजन्य उत्पादन देखिएको छैन । धादिङमा झार्लाङको आलु, सल्यानटारको मास, थाक्रेको उखुु लगायत यस्ता थुप्रै उत्पादनहरु नेपालमा प्रख्यात छन्’ उनले भने– ‘बाहिरबाट आएका सामानहरु मात्र स्टलमा छन् । यस्ता सामाग्रीहरु बजारमा जुनकुनै बेला पाइन्छ । कम्तिमा ४०/५० प्रतिशत स्टलहरुमा धादिङको उत्पादन तथा रैथाने खानेकुरा रहे महोत्सवले धादिङको कृषि, पर्यटन तथा सिंगो धादिङको व्यापार तथा विकासमा सहयोग पुग्नेछ ।’

महोत्सव उद्घाटन समारोहमा शुभकामना दिने प्रायः सबैले रैथाने खानेकुरा, स्थानीय कृषिजन्य उत्पादन, पर्यटन क्षेत्रलाई सहयोग पुग्ने खालका स्टलहरु राख्न सुझाव दिएका छन् । चैत्र १४ गतेदेखि सुरु भएको महोत्सव २४ गतेसम्म चल्नेछ ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट