काठमाडौं– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू लागेको बताएका छ्न् ।
`एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका हुन् । त्यस्ता शक्तिले एमाले विरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेका छन् । एमालेलाई गिराउन युवालाई भड्काउने अनेक प्रयास भइरहेको लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रमको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
`नेपाली नागरिक सचेत हुनु पर्छ । यी सबै कुरालाई बुझेर युवा सही बाटोमा अघि बढ्नु पर्छ । अबको समय देशमा युवाको समय हो ’ उनले भने- `अब भ्रममा होइन स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नेछ । प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्छ । युवाले देश बनाउने सङ्कल्प गरि साकार पार्नुपर्दछ ।’
त्यस्तै, लोकतन्त्र दिवस नेपालीको ठुलो चाड र खुसीको दिन भएको बताएका छन् । `निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याइएको हो । अब देश युवाले बनाउनु पर्छ´ उनले भने- `अहिले जनताको बलिदान र सङ्घर्षको अपमान गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेका छन् । सामन्ती व्यवस्थालाई पुन: फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको छ । जङ्गली मात्र होइन राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ ।’
नेकपा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको उनले बताए । सरकार तिर होइन, एमालेका युवालाई मिसन २०८४ मा ध्यान दिन उनले आग्रह गरे । मिसन २०८४ नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसन भएको हुदा सोही अभियान मार्फत देश बन्ने र बनाउने उनले दाबी गरे ।
`देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन आवश्यक छ । समाजलाई विभाजन गर्ने तत्त्वसँग सचेत भएर अघि बढ्नु पर्नेछ । नेपाल महान् देश हो, नेपाली जनता महान् जनता हुन्, महान् नेपालका नेपाली युवा त्यस अनुसार अघि बढ्ने छन्, यसको नेतृत्व नेकपा एमालेले बाटो नबिराई गर्नेछ’, उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप