काठमाडौं– सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका शिक्षकहरुलाई सरकारले पुनः वार्तामा बोलाएको हो ।
शिक्षकहरु आन्दोलन गरिरहेको समयमा शिक्षा मन्त्री परिवर्तनले नयाँ मोड लिएको थियो । अहिले दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।
वार्ता र सहमति गर्ने तर कार्यान्वयन नभएको आन्दोलनरत शिक्षकहरुले गुनासो गर्दै आएका छन् । त्यस्तै, सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप