काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामा बोलाएका शिक्षकहरु सिंहदरबार गेटबाटै फर्किएका छन् । वार्ताका लागि गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटबाटै फर्किएका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् । मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको भन्दै उनीहरू बैठक बहिस्कार गरेर गेटबाटै फर्किएको बताइएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ ।’
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । वार्ता र सहमति गर्ने तर कार्यान्वयन नभएको आन्दोलनरत शिक्षकहरुले गुनासो गर्दै आएका छन् । त्यस्तै, सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप