काठमाडौं- थला परेर नलडुन्जेल नागरिकको सेवामा लडिरहने कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
किसान माथि उठे मात्रै देश विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकास संभव रहेको उनले बताए । धादिङको गजुरी गाउँपालिका– ४ गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै कृषि मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
‘मुलुकमा एकै चोटी विकास संभव छैन । विस्तारै क्रमिक रुपले विकास हुने हो । ढिला भयो म भन्दिन । तीन वर्ष भन्दा अघिसम्म अन्धकारमा बाँच्नु पर्ने अवस्था थियो । तर आज रसिलो र पोषिलो जमिन, सबै ठाउँमा पुगेको सडक सञ्जाल छ । विजलीबत्ती पुगेको छ । यो विकास हो’ उनले भने– ‘म एकै ठाउँमा बसीरहन सक्दिन । मेरो घुँडामा बल हुन्जेल गरिब किसानका हक हितका लागि लडिरहनेछु । किसानको जीवनस्तर माथि उठाउन सबै लागौं । किसान र कृषि क्षेत्रको विकास भए मात्र मूलुकको विकास संभव छ ।’
त्यस्तै, नागरिकको चाहना र जीवनस्तर फेरिने खालका योजनामा बजेट विनियोजन गरिएको बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले बताए । ‘समग्र धादिङको विकासमा बागमती प्रदेश सकरात्मक रहेको भन्दै शिक्षा, स्वास्थ्य, सडक सञ्जाल तथा विकास निर्माणको क्षेत्रमा योजना ल्याएर काम गर्नेछौं । हाम्रो सरकार रहेको समयमै नागरिकको चाहना र आवश्यकतालाई मध्यनजर गरी काम गर्नेछौं’ उनले भने ।
पिण्डेश्वरी माध्यामिक विद्यालयले प्लस टु सञ्चालन गर्ने उद्देश्यले सुरु गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पनि आज समापन भएको छ । आठ कोठे भवन र हल आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । ‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल मर्म साथमा महायज्ञको सुरुवात गरिएको थियो । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको हो ।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल र वडा नम्बर ४ का वडा अध्यक्ष सुरेंद्र प्रजा लगायतले पिण्डेश्वरी माध्यामिक विद्यालयको चौतर्फी विकास एवं प्लस टु सञ्चालनका लागि वडा र पालिकाको क्षमताले भ्यायसम्म सहयोग गर्ने बताएका छन् ।
बैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ बैशाख १३ गतेसम्म सञ्चालन भएको थियो । महायज्ञमा कथावाचक तपस्वी गुरु उत्तम भट्टले प्रवचन दिएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप