काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच भएको प्रमाणित गर्न नेपाली कांग्रेसका नेता गगन थापालई चुनौती दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले थापालाई चुनौती दिएका हुन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाले पहुँच राखेर सरकार चलाएको अभिव्यक्ति दिएका थिए ।
‘कुरा सुनेर पनि दया लाग्छ, के बोलेको त्यो । के त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’ प्रधानमन्त्री ओलीले चुनौती दिँदै भने– ‘धतंगाएर बोलेर मात्र हुदैन । प्रमाणीत गरेर देखाउन म चुनौति दिन्छु ।’
प्रमुख विपक्षी दलका नेताहरु सरकार ढल्यो भन्दै अफवाह फैलाइरहेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्डले अफवाह फैलाइरहेको संकेत गर्दै उनले थाइल्यान्डबाट कांग्रेस सभापति शेरबहादुर देउवा फर्किनेबित्तिकै त्यस्ता अफवाह फैलाउनेहरू आश्चर्यमा परेको समेत बताए ।
‘शेरबहादुरजी फर्किनेबित्तिकै सरकार ढल्यो भन्दै थिए । शेरबहादुरजीले टाउकोबाट चिसोपानी खन्यादिएपछि फेरि ती छक्क परेका छन् । शेरबहादुरजी फर्किनेबित्तिकै नढलेर के गर्ने दुई–चार दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छन् । हामी हरेक कुराबाट सतर्क छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप