कहिले बाँच्नुको भय, कहिले मर्नुको भय
कति गर्नु खै जिन्दगीमा खुसीको अभिनय ।
आँखै अघि सत्य ढलेको दृष्य घुमिरहन्छ
आखिर हुन छाडेछ असत्यको पराजय ।
एक निमेषमा के हुन्छ ? केही ठेगान छैन
चम्केको घाम पनि त क्षणमै हुन्छ विलय ।
अरुले के गर्छन् ? वास्ता गर्नु छैन मलाई
पछि लागेरै जीवन बिताउँछन् कतिपय ।
गल्तिको सजाय त सबैले स्वीकार्नु नै पर्छ
नगरेको गल्ती स्वीकार्नु पर्दा हुन्छ असह्य ।