काठमाडौं – हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको छ ।
हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।
यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो ।
यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप